बागलुङ । जंगलमा प्रसस्त पाईने अल्लो (चाल्ने सिस्नो)बाट जिल्लाका महिलाले पहिलोपटक जुत्ता उत्पादन थालेका छन् । ताराखोलास्थित सोनाम अल्लो कपडा उत्पादन समूहले उत्पादन गर्दै आएका अन्य सामाग्रीसंगै पुरुषले लगाउने जुत्ता उत्पादन शुरु भएको हो । अल्लो कपडा मात्र प्रयोग गरेर जुत्ता बनाएर बिक्री गरेको नेपालमै पहिलोपटक भएको उनीहरुले बताए ।

यसअघि पच्छ्यौरा, झोला, स्विटर, टोपी, पैसा राख्ने पर्स लगायत बनाइरहेका थिए । ‘नयाँ उत्पादन र पुरुषहरुले पनि अल्लो कपडाको उपयोग गर्न पाउन भनेर जुत्ता बनाउन शुरु गरेका हौं’ समूहकी सदस्य भिमा रोकाले भनिन्, ‘पहिलोपटक भएकोले धेरै बनाएका छैनौं, अर्को बर्ष बढाउँदै लैजाने योजना छ ।’ उनीहरुले दुई हजार पाँच सय रुपैयाँमा अल्लोको जुत्ता बिक्री गरिरहेका छन् । ताराखोलामा मात्र अल्लोका दुई वटा समूहमा ३० महिला सहभागी छन् । उनीहरु स्वरोजगार भएका छन्भने परिवारका अन्य सदस्यलाई पनि काम सिकाईरहेका छन् ।

जुत्ता सिलाउने मेसिनको अभावमा महिलाले गलकोटस्थित हटिया बजारमा लगेर उत्पादन गर्नुपरेको बताए । यो अभियानका लागि जिल्ला लघुउद्यमी समूहका सचिव यामबहादुर भुजेलले सहयोग गरेका छन् । जंगलमा बग्रेल्ती पाईने अल्लो संकलन गरेर ल्याएपछि पानीमा पकाउने, कुट्ने पिस्ने र सुकाएपछि कपास जस्तो बनाएर धागो कात्ने गरिन्छ ।

‘मंसिर र पुसमा जंगलमा संकलन गर्ने मुख्य सिजन हो’ समूहकी अर्की सदस्य कली बुढाथोकीले भनिन्, ‘घरको काम भ्याएर बचेको समयलाई सदुपयोग गर्दै उद्यमी बन्न सकेका छौं ।’ व्यक्तिगत कमाई नहुँदा घर धान्न नसकेका महिलाका लागि यो पेशा निकै उपयोगी भएको उनले बताईन् । तुलनात्मक रुपमा महंगो भएकोले गाउँघरमा भने बिक्री गर्न अप्ठ्यारो भएको उनीहरुले गुनासो गरे । बागलुङ बजारमा यामकुमारी थापाले सौगात गृहको रुपमा पसल संचालन गरेर अल्लो र ढाकाका सामाग्री बिक्री कक्ष बनाएकी छिन् । उक्त कक्षबाट जिल्ला स्तरीय कार्यक्रमहरुमा केही सामान बिक्री हुन्छन् । अल्लोकै माग भएका पोखरा र काठमाण्डौको बजारमा सजिलै पु¥याउन नसक्दा नाफा धेरै लिन नसकेको उनीहरुले गुनासो गरेका छन् । बजारको लागि सहयोगी पाएमा उत्पादन बढाएर लैजाने उनीहरुको योजना छ ।

घरेलु तथा साना उद्योग विकास समिति, लघुउद्यम विकास कार्यक्रम, संगत तालिम केन्द्र, जिल्ला लघुउद्यमी समूह संघ महिलालाई उत्पादनको काममा लगाउने संस्था हुन् । २०६६ सालमा तालिम लिएर अल्लोको धागो कात्न सिकेका महिलाहरुले अहिले घरघरमा मेसिन राखेर धागो कात्ने, कपडा बुन्ने र कपडाकै उपयोगी सामाग्री बनाउने काम गरिरहेको भेटिन्छन् । अल्लोको धागो कात्ने र कपडा बुन्ने सम्मको काम गर्दा उद्यमीलाई प्रतिमिटर ५ सय रुपैयाँ भन्दा धेरै खर्च हुन्छ । उनीहरुले अहिले प्रतिमिटर ६ सय रुपैयाँमा कपडा बिक्री गरिरहेका छन् । दिनभर काम गर्नेले ३ मीटरसम्म कपडा बुन्न सक्छ । धागोको खर्च कटाएर उनीहरुले आफ्नो मेहेनतबाट मासिक १५ हजार रुपैयाँसम्म कमाउन सफल भएको रोकाले बताईन् ।

जुत्ता, झोला र पर्स जस्ता बस्तुको बिक्री बढाउन सकेमा उनीहरुलाई बढी फाइदा हुन्छ । कर्मचारी, केही जनप्रतिनिधिहरुले उत्साह थप्नका लागि उनीहरुको उत्पादनको प्रयोग बढाएका छन् । ‘बिदेशी पर्यटकले पनि सामान मन पराएका छन्, तर दिन दिनै सम्पर्कमा राख्न हामीले सकेका छैनौं’ रोकाले भनिन्, ‘गाउँपालिकाले पहल गरेर नियमित पठाउने व्यवस्था मिलाईदिएमा युवा पुस्ता गाउँमै बस्ने थिए । सहज बिक्रीको समस्याले कपडा बुन्न सिकेका युवतीहरु पनि बजार झर्न खोजेको बुढाथोकीको गुनासो छ । – स्रोत – जनमंच