दाङ, २८ पुस | नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले वर्तमान सरकारले वाम गठबन्धनको सरकार गठनका लागि ढोका खोलिदिनुपर्ने बताउनुभएको छ ।

संवाद समूह क्षेत्रीय सचिवालय तुलसीपुरको आयोजनामा आज यहाँ गरिएको स्वागत तथा बधाइ कार्यक्रममा उहाँले भन्नुभयो, ‘‘ताजा जनादेश आएको महिनाँै भयो तर विभिन्न बहानामा सरकारले नयाँ जनादेशको सम्मान नगर्नु दुर्भाग्य हो ।’’ उहाँले प्रदेश ५ को राजधानी दाङ बन्नेमा ढुक्क हुन सबैलाई आग्रहसमेत गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का नेता एवम् प्रदेशसभा सदस्य शंकर पोखरेलले ‘लोकतन्त्रको भजन गाउनेहरू’ले नै लोकतन्त्रिक प्रणालीलाई उपहास गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘‘चुनाव सम्पन्न भएको एक महिना बितिसकेको छ तर नयाँ सरकार गठनका लागि वर्तमान सरकारले ढोका खोल्दैन, अन्योलबीच मुलुक अगाडि बढेको छ ।” रासस