काठमाडौं । नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ। यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो। नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको औपचारिक उद्घाटन आगामी शुक्रबार हुँदै छ। त्यसपछि नेपालले चीन हुँदै विश्वबजारको दूरसञ्चार नेटवर्कमा आबद्धता जनाउनेछ।

दुई वर्षअघि नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल लिमिटेड (सीटिजी) बीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबुलमार्गमा जोड्नेबारे सम्झौता भएको थियो। सोही सम्झौताअनुसार दुवैतर्फको ‘अप्टिकल फाइबर’ एक–अर्कामा जोडिएका छन्। सम्पूर्ण परीक्षण सफल भएपछि अब व्यावसायिक सञ्चालन गरिने भएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत यु होङले ‘नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक’को औपचारिक उद्घाटन गर्ने टेलिकमले जनाएको छ। तोडिँदै भारतीय एकाधिकार नेपालको स्थलमार्गबाट हुने दूरसञ्चारको अन्तर्राष्ट्रिय आबद्धतामा भारतीय एकाधिकार तोडिने भएको छ।

नेपालले चीन हुँदै विश्वबजारको दूरसञ्चार नेटवर्कमा आबद्ध हुने बाटो खुलेसँगै भारतीय एकाधिकार तोडिने भएको हो। विश्वव्यापी दूरसञ्चार नेटवर्कमा आबद्धताका लागि स्याटेलाइट र केबल गरी दुईवटा माध्यम छन्। हाल नेपालले दूरसञ्चारमा अन्तर्राष्ट्रिय आबद्धताका लागि एकभन्दा बढी मुलुकको स्याटेलाइट प्रयोग गरे पनि स्थलगत आबद्धता भने भारतबाट मात्रै हुँदै आएको छ। चीनसँग अप्टिकल फाइबरमार्फत जोडिएसँगै अब नेपालले भारतबाहेक चीनको बाटो हुँदै विश्व दूरसञ्चार सञ्जालमा जोडिने प्रवक्ता वैद्यले बताइन्।
(नयाँ पत्रिका दैनिक)